काठमाडौँ । देशभरका ५ लाखभन्दा बढी विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान ८ बजेदेखि पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु भएको जानकारी दिएको छ । आगामी चैत २९ गतेसम्म चल्ने यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४ सय ७१ परीक्षार्थीहरू सामेल भएका छन् ।
यस पटकको परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ र जापानमा एक गरी जम्मा १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँका १३५ केन्द्रबाट ४१ हजार १ सय ५५ जना सहभागी छन् भने सबैभन्दा कम मनाङबाट एउटा केन्द्रमार्फत ३७ जनाले मात्र परीक्षा दिइरहेका छन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
विशेष आवश्यकता भएका तथा अपाङ्गता भएका विद्यार्थीहरूका लागि बोर्डले विशेष सहजता प्रदान गरेको छ । उनीहरूको प्रकृति हेरेर थप १ घण्टा ३० मिनेटको अतिरिक्त समय र कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई लेखन सहयोगीका रूपमा राख्न पाउने सुविधा दिइएको छ । त्यस्तै, बालसुधार गृहमा रहेका परीक्षार्थीहरूलाई पनि नजिकैको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारको निर्देशन बमोजिम यस वर्षको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने गरी तयारी तीव्र पारिएको छ, जसका लागि उत्तरपुस्तिका परीक्षण र प्राप्तांक पठाउने प्रक्रियालाई अझ छिटो र छरितो बनाइएको छ ।



