काठमाडौँ । प्रलोभनमा परेर कम्बोडिया पुगेका तीनजना नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काइएको छ ।
ती नागरिकहरूलाई कम्बोडियामा सञ्चालित अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काम गर्न बाध्य बनाइएको पाइएको थियो । थाइल्याण्डस्थित नेपाली राजदूतावासको सक्रियता र कम्बोडिया सरकारको समन्वयमा उनीहरूलाई त्यहाँबाट मुक्त गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहयोगमा उनीहरू चैत २० गते काठमाडौँ आइपुगेका छन् ।
दूतावासका अनुसार कम्बोडियामा अझै केही नेपालीहरू समस्यामा रहेको सूचना प्राप्त भएकाले उनीहरूको पनि उद्धारका लागि पहल जारी छ । पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ । सन् २०२१ मा केवल १०१ जना पुगेकोमा सन् २०२५ सम्म यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ ।
धेरैजसो नेपालीलाई आकर्षक तलबको लोभ देखाइ स्क्यामिङ सेन्टरमा काम लगाउने र राहदानीसमेत जफत गर्ने गरिएको गुनासो बढ्दो छ । यस्तो अवस्थामा रहेकाहरूलाई दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराएर सहयोग गर्दै आएको छ ।
सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र भ्रमण भिसाको बहानामा कम्बोडिया, लाओस, म्यानमार जस्ता देशमा कामका लागि नजान सर्वसाधारणलाई पुनः सचेत गराएको छ ।



