जनकपुर । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई महत्त्वपूर्ण खेलहरू सञ्चालन हुँदैछन् ।
जनकपुरमा हुने पहिलो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेश आमनेसामने हुँदैछन् । यस सिजनमा दुवै टोलीको प्रदर्शन मध्यम देखिएको छ , जहाँ पाँच खेल खेलिसकेको एपीएफ एक जित र तीन हारका साथ सातौँ स्थानमा छ भने समान अंक भएको कर्णाली आठौँ स्थानमा रहेको छ ।
त्यस्तै, वीरगन्जको पर्सा क्रिकेट मैदानमा कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । कोशी प्रदेशका लागि यो सिजन निकै चुनौतीपूर्ण बनेको छ , किनकि उसले खेलेका पाँचमध्ये चार खेलमा पराजय भोगेको छ ।
अर्कोतर्फ, गण्डकी प्रदेश पनि पाँच खेलबाट तीन अंक जोड्दै तालिकाको नवौँ स्थानमा संघर्षरत छ । १० टोली सहभागी यस प्रतियोगितामा ‘सिंगल राउन्ड रोबिन’ को आधारमा खेलहरू भइरहेका छन् , जहाँ शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।



