जनकपुर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् ।
जनकपुरमा हुने पहिलो खेलमा अहिलेको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब आमनेसामने हुनेछन् । सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ भने ६ खेलबाट ५ अंक मात्र बटुलेको एपीएफ छैटौँ स्थानमा सीमित छ ।
यसैगरी, पर्सामा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार मानिएको आर्मी ५ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलमा मात्र ३ अंक जोडेको कर्णाली प्रदेश तालिकाको नवौँ स्थानमा रहेको छ । दुवै खेलहरू बिहान ९ बजेबाट सुरु हुने तालिका छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित कुल १० टिमको सहभागिता रहेको छ । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालित यस प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।
ऐतिहासिक रूपमा हेर्दा अहिलेसम्म विभागीय टोलीहरूले मात्र यो प्रतियोगिता जितेका छन्, जसमा नेपाल पुलिस क्लबले सर्वाधिक ४ पटक र आर्मी तथा एपीएफले २-२ पटक उपाधि उचालेका छन् । यस पटकको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



