काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ ।
अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने तराईका भागहरूमा आंशिक बादल लागेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भेगमा बादल लाग्ने सम्भावना छ । कोशीको पहाडी र तराई क्षेत्र तथा अन्य पहाडी भू-भागमा आंशिक बदली भए पनि बाँकी तराईका स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा हावाहुरी चल्न सक्ने देखिएको छ ।
आज राति भने कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानको मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा भने रातिको समयमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।



