काठमाडौँ । मुलुकको पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पहाडी भेगमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा भने घाम लागेर मौसम सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने आकलन गरिएको छ ।
गण्डकीका पहाडी र अन्य हिमाली क्षेत्रका थोरै स्थानमा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
रातीको समयमा पनि हिमाली क्षेत्रमा बादल लाग्ने र कोशी तथा गण्डकीका उच्च भू-भागमा हल्का हिमपातको क्रम जारी रहने देखिन्छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने विभागको पूर्वानुमान छ ।



