काठमाडौँ । नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले सबै नेपाली नागरिकका लागि सुख र समुन्नतिको मङ्गलमय शुभकामना प्रकट गरेका छन् ।
सोमबार एक भिडियो सन्देशमार्फत उनले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अबका दिनमा स्थिरता र सहकार्यको बाटो रोज्नुपर्ने खाँचो औँल्याएका हुन् । विगतका अनुभवबाट पाठ सिकेर अघि बढ्नुपर्ने भन्दै उनले बारम्बार भइरहने राजनीतिक र प्रशासनिक प्रयोगले देशको जग कमजोर बनाएको टिप्पणी गरेका छन् ।
शाहले पछिल्ला वर्षहरूमा नेपालले चाहेजस्तो प्रगति गर्न नसकेको र परिवर्तनहरू केवल नाममा मात्र सीमित भएको धारणा राखेका छन् । दलगत स्वार्थ र सत्ताको खेलमा अल्झिँदा राष्ट्रको समग्र विकास पछि परेको उनको ठहर छ । यद्यपि, राजनीति र राज्य सञ्चालनका विभिन्न तहमा युवा पुस्ताको सक्रियता बढ्नुलाई उनले सकारात्मक सङ्केतका रूपमा लिएका छन् । प्रविधि र आधुनिक ज्ञानले सुसज्जित नयाँ पुस्ताले राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनेमा उनी विश्वस्त देखिएका छन् ।
आफ्नो सन्देशमा पूर्वराजाले आर्थिक सुधार, आन्तरिक सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउनुपर्नेमा विशेष जोड दिएका छन् । जनताको जीउधनको सुरक्षा र दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ । साथै, सबै पक्षको भावना समेटिने गरी संवैधानिक निकास खोज्नुपर्ने र नेपालको मौलिक पहिचान जोगाउँदै समृद्धिको दिशामा सबै एकजुट हुनुपर्ने सन्देश उनले दिएका छन् ।



