काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले आ-आफ्नो खेलमा फराकिलो जित दर्ता गरेका छन् ।
सोमबार भएका प्रतिस्पर्धामा एपीएफले मधेश प्रदेशलाई ७४ रनले हराउँदा आर्मीले कोशी प्रदेशमाथि १८५ रनको विशाल जित निकाल्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको पहाड खडा गरेको थियो । एपीएफका लागि ओपनर आसिफ सेखले सानदार ब्याटिङ गर्दै २०८ रनको ऐतिहासिक दोहोरो शतक प्रहार गरे । उनले १४२ बलको सामना गर्दै १५ चौका र १७ छक्का प्रहार गरेका थिए । नेपाली घरेलु क्रिकेटको इतिहासमा दोहोरो शतक प्रहार गर्ने आसिफ पहिलो खेलाडी बनेका छन् । यस्तै सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रनको योगदान दिए ।
३९१ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेशले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३१६ रन मात्र बनाउन सक्यो । मधेशका लागि मोहम्मद आदिल आलमले ८७ र अरनिको यादवले ८६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । एपीएफका अभिषेक गौतमले ३ र कमल सिंह ऐरीले २ विकेट लिए । जितका बाबजुद एपीएफ ९ खेलबाट ११ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ र फाइनलको दौडबाट बाहिरिएको छ ।
यता मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई सहजै पराजित गर्यो । आर्मीले दिएको ३६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रनमा समेटियो । त्यसअघि कप्तान विनोद भण्डारीको १८९ रन र भीम सार्कीको ८० रनको मद्दतले आर्मीले ८ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।
यो जितसँगै ८ खेलबाट १५ अङ्क जोडेको आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिँदै फाइनलमा पुग्न सफल भएको छ ।



