काठमाडौँ । गण्डकी प्रदेशले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गरेको छ ।
मंगलबार भएको प्रतिस्पर्धामा कर्णालीले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्यलाई गण्डकीले मात्र १३ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । गण्डकीको जितमा किब्रिन श्रेष्ठले ४० रनको योगदान दिए भने दीपक डुम्रे २२ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशको प्रदर्शन निकै फितलो रह्यो । टोली २५.२ ओभरमा मात्र ७२ रनमा समेटिन पुग्यो । कर्णालीका लागि प्रकाश जैशीले १५, कप्तान दिवान पुनले १४ र अर्जुन घर्तिले १३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीको ब्याटिङ लाइनलाई ध्वस्त पार्ने क्रममा गण्डकीका विपिन खत्रीले घातक बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले ३ तथा सुबास भण्डारी र कमल परियारले समान १–१ विकेट हात पारे ।
यो खेलसँगै दुवै टोलीको लिग चरणका खेलहरू सकिएका छन् । प्रतियोगिताको ९ खेलबाट ९ अंक जोड्दै गण्डकी प्रदेश छैटौँ स्थानमा उक्लिएर सिजनको अन्त्य गरेको छ । अर्कोतर्फ, कर्णाली प्रदेशका लागि यो सिजन बिर्सनलायक रह्यो । ९ खेलमा १ जित र ७ हार बेहोरेको कर्णाली १ खेल रद्द हुँदा ३ अंकका साथ तालिकाको नवौँ स्थानमा थन्किएको छ ।



