काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी छोरी किम जु ए पछिल्लो समय आफ्नो महँगो र आधुनिक पहिरनका कारण विश्वभर चर्चाको केन्द्रमा छिन् ।
सामान्य नागरिकका लागि पश्चिमा शैलीका कपडा र फेसनमा कडा प्रतिबन्ध लगाइएको उत्तर कोरियामा, नेताकी छोरी भने बारम्बार विदेशी ब्रान्डका विलासी पोसाकमा सार्वजनिक कार्यक्रमहरूमा देखिन थालेकी छन् । किम जु एलाई यसरी विलासी शैलीमा प्रस्तुत गरिनुलाई धेरैले भावी उत्तराधिकारीको तयारी र किम परिवारको विशेष सामाजिक हैसियत प्रदर्शन गर्ने रणनीतिका रूपमा विश्लेषण गरेका छन् ।
सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएदेखि नै ११ वर्षीया जु एको पहिरन र शैलीमा ठूलो परिवर्तन देखिएको छ । दक्षिण कोरियाली र पश्चिमा विशेषज्ञहरूका अनुसार उनले प्रयोग गर्ने कोट र ज्याकेटहरू हजारौँ डलर पर्ने अन्तर्राष्ट्रिय ब्रान्डका हुने गरेका छन् ।
एकातिर उत्तर कोरियाले बाहिरी संस्कृति र ‘समाजवाद विरोधी’ फेसनमाथि कडा कानुन बनाएर रोक लगाएको छ भने, अर्कोतिर नेताकी छोरीले नै सोही शैली अपनाउनुले त्यहाँको शासनसत्ताभित्रको विरोधाभासलाई छर्लङ्ग पारेको छ ।



