काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गर्ने पार्टीको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मुलुकको राष्ट्रियतामा वैदेशिक हस्तक्षेपको जोखिम बढेको र आन्तरिक रूपमा पार्टी पंक्ति विभाजित रहेको वर्तमान परिस्थितिमा यस्ता निर्णयले एकतामा खलल पुर्याउने उनले उल्लेख गरेका छन् । विधानत: नेता तोक्ने अधिकार सभापतिमा निहित भए पनि सम्बन्धित व्यक्तिलाई कुनै पूर्वसूचना नदिई अचानक हटाइनुलाई उनले राजनीतिक संस्कार विपरीतको कार्य भनेका छन् ।
पार्टीभित्र आपसी विश्वास र एकताको वातावरण बनाउनुपर्ने संवेदनशील समयमा एक अनुभवी नेतामाथि गरिएको यस्तो व्यवहारले शुभ संकेत नगरेको खड्काको तर्क छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो अपारदर्शी निर्णयले पार्टीलाई थप क्षति पुर्याउन सक्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।



