काठमाडौँ । देशमा पश्चिमी वायुसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशभर आंशिकदेखि साधारणतया बदली हुनुका साथै विभिन्न भूभागमा वर्षा र हिमपातको क्रम सुरु भएको छ ।
वर्तमान मौसमी प्रणालीका कारण आगामी शनिबार (कार्तिक १४ गते) सम्म देशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा र हिमपातको समेत प्रक्षेपण गरिएको छ ।
यसबाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधि र हिमपहिरोको जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस मौसमी गडबडीले चिसो ह्वात्तै बढाउने, पहिरोको जोखिम बढाउने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने देखिएको छ ।

