जनकपुरधाम । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा बाराबाट निर्वाचित प्रदेश सभा सदस्य सरोजकुमार यादवलाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् ।
दलहरूले दुई वा सोभन्दा बढीको गठबन्धनमा बहुमत जुटाउन नसकेपछि सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतमा उनलाई यो जिम्मेवारी दिइएको हो । शुक्रबार अपराह्न ४ बजेसम्म धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्ने समयसीमा सकिँदासम्म कुनै पनि पक्षबाट बहुमतको दाबी नआएपछि प्रदेश प्रमुखको कार्यालयले यादवको नियुक्तिबारे औपचारिक जानकारी गराएको हो ।
अब उनले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ । कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत पाउन कम्तीमा ५४ सांसदको साथ चाहिन्छ ।
हाल प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद रहेका छन् । यसैगरी संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ जना प्रदेश सभा सदस्य छन् ।

