काठमाडौँ । देशको मौसममा आज शनिबार कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल पहाडी तथा हिमाली भेगमा आंशिक बादल देखिएको छ । तराईका केही भू-भागमा हुस्सु र तुवाँलो लागेको भए पनि देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । कोशी , बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।
यसैगरी आज राति कोशी , मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । बिहानको समयमा उपत्यका र खोँचका साथै तराईका थोरै ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

