नेपाल-भारत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच दुई दिने छैटौं वार्षिक समन्वय कार्यक्रम सशस्त्र प्रहरी बल को मुख्यालय काठमाडौंमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार सम्पन्न बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक सुजोयलाल थाओसेनले आ-आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए ।
भेटमा दुवै पक्षले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन, सीमापार अपराध नियन्त्रण र सीमानालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सूचना आदानप्रदान गर्ने कुरामा सहमति जनाएका छन् ।
त्यसैगरी सीमानाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई सहमति अनुसार निरन्तरता दिइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।