चन्द्रागिरि नगरपालिका-२ मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चन्द्रागिरि नगरपालिकाले तत्काल ५० हजार रुपैयाँ राहत दिने भएको छ । सहयात्रा भनेको मृतकका लागि किरिया (मृत्यु संस्कार पछि) खर्च व्यहोर्नु हो, भनिएको छ। गएराति चन्द्रागिरि नगरपालिका-२ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
उनीहरुले आश्रय लिएको ध्यान केन्द्रलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका-२ मसिने जाने बाटोमा देउराली नजिकै उक्त केन्द्र रहेको छ ।
मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् । उनीहरु सबै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१२ का हुन् । भग्नावशेषबाट शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको स्थानीयले बताए ।
यसैबीच नगरपालिकाका मेयर घनश्याम गिरीले आज बिहान घटनास्थलको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । ‘पहिरोबाट थप क्षति हुन नदिन अवरुद्ध सडक खुला गर्ने प्रयास जारी छ, थप जोखिम हुन सक्ने भन्दै नगरपालिकाले पनि सचेतना जगाएको छ,’ उनले भने ।