जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ । त्यस्तै अन्य दुई जना घाइते भएका छन् ।
पहिरोले कनकसुन्दरी गाउँपालिका–५ बर्कोटेबाडास्थित गणेशबहादुर शाहीको घर पुरिँदा शाहीको परिवारका सात जनाको मृत्यु भएको थियो । शनिबार बिहान उक्त दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
राष्ट्रिय समाचार समितिसँग फोनमा कुरा गर्दै डिएसपी चन्दले भने, ‘विहान ४ बजे पहिरो गएको जानकारी हामीले पाएका थियौँ, उनीहरु सुतिरहेकाले दुर्घटनाबाट बच्न सकेनन् । प्रहरी र स्थानीयले सबैको उद्दार गरेका छन् । सात जनाको शव र घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी लगिएको छ ।”
जुम्लामा लगातार वर्षा भइरहेको छ । धेरै ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ भएको छ ।
तर, जिल्ला सुरक्षा समितिको टोली विपद्ग्रस्त क्षेत्रमा गएको छ । “हामी बाटोमा भग्नावशेष सफा गर्दै अगाडि बढिरहेका छौँ। सम्भवतः आज बेलुकासम्म घटनास्थल पुग्छौँ,” उनले भने।
जिल्लामा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । (RSS)