काठमाडौं असोज २८। सरकारले यस वर्ष हिउँदे बालीका लागि केही मौज्दात र केही आयात गर्ने क्रममा रहेकाले रासायनिक मलको अभाव नहुने बताएको छ ।
कतिपय जिल्लामा किसानले तोरी, गहुँ, आलुलगायत हिउँदे बाली लगाउने तयारी गरेका छन् ।
बारम्बार हिउँदे बाली रोप्ने बेलामा किसानले रासायनिक मलको अभाव झेल्दै आएका छन् ।
हाल कृषि सामग्री कम्पनी लिमिटेड (एआईसीएल) र साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) दुई कम्पनीसँग हिउँदे बालीका लागि ५५ हजार २९५ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
तीमध्ये एआईसीएलका विभिन्न डिपोमा ५ हजार ९८ टन युरिया, ४० हजार ६ सय टन डीएपी र ४ हजार १५४ टन पोटास मौज्दात रहेको छ ।
त्यस्तै एसटीसीसँग २ हजार ८ सय ८१ टन युरिया, २ हजार ३ सय ९३ टन डीएपी र १६७ टन पोटास मौज्दात रहेको छ । यससँगै थप मल आयात भइरहेको उनले बताए ।
रासायनिक मलहरू एआईसीएल र एसटीसी द्वारा आयात गरिन्छ र देशभरका किसानहरूलाई सहुलियत दरमा वितरण गरिन्छ। लगभग, देशभरि मल आपूर्तिको ७० प्रतिशत एआईसीएल र ३० प्रतिशत एसटीसीले गर्छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हिउँदे बालीका लागि देशभर करिब ८० हजारदेखि एक लाख टन रासायनिक मल चाहिन्छ । यसमा ६५ हजार टन युरिया, २० हजार टन डीएपी र बाँकी पोटास समावेश छ ।
अहिले कम्पनीहरूसँग ५५ हजार २९५ टन मल मौज्दात छ । त्यसबाहेक करिब ३० हजारदेखि ४० हजार टन मल आयात हुने गरेको छ ।
एआईसीएलले एक लाख टन मलका लागि ग्लोबल टेन्डर आह्वान गर्दा चालु आर्थिक वर्षमा करिब ३० हजार टन युरिया आयात भएको थियो । धानको टप ड्रेसिङमा मल प्रयोग हुने गरेको छ ।
करिब ४० हजार टन डीएपी आयात भइरहेको र बाँकी ३० हजार टन युरिया भारतको विशाखापट्टनम बन्दरगाहमा आउने क्रममा रहेको सञ्जेलले बताए ।
त्यस्तै, मन्त्रालयले भारतबाट जी-टू-जी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ३० हजार टन युरिया खरिदका लागि भारतलाई प्रस्ताव पठाएको सञ्जेलले बताए ।
उनले प्रस्तावअनुसार भारतीय कम्पनी राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेड (आरसीएफ)लाई अग्रिम भुक्तानीका लागि एआईसीएलले काम गरिरहेको जानकारी दिए ।
सन् २०२२ को मंसिरसम्ममा भारतबाट मल आइपुग्ने उनले बताए । एसटीसीले आयात गरेको ३० हजार टन युरिया लोड भई असोज ३१ गतेसम्म वीरगन्ज पुग्ने मन्त्रालयले जनाएको छ ।
थप २७ हजार ५ सय टन युरिया पठाइएको छ । यो मल यही मंसिर ४ सम्म नेपाल आइपुग्नेछ ।
२० हजार टन डीएपी खरिदका लागि टेण्डर प्रक्रियामा छ । यो मल यही डिसेम्बर मसान्तसम्ममा नेपाल आउने मन्त्रालयले जनाएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बजारमा मल महँगो भएपछि एसटीसीले मल आयात गरेको थिएन।