हुम्ला असोज ३१ । हुम्ला जिल्लाको सार्केगर्द गाउँपालिकाको वडा नं १ मा मात्रै पहिरोले १५० घरमा क्षति पुगेको छ ।
झण्डै एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको हो । त्यसैगरी वडाभरका कैयौं बस्तीका जग्गा पनि टुक्रिन थालेको अधिकारी तथा स्थानीयले जानकारी दिए ।
पहिरोले वडाका पाँच गाउँमा क्षति पुगेको स्थानीय पीडितले जानकारी दिएका छन् ।
“केही घर पहिरोको उच्च जोखिममा केही समयदेखि थिए। तर, जोखिम क्षेत्रबाट टाढा रहेका ठाउँमा पनि क्षति पुगेको छ । कतिपय क्षेत्रमा जग्गा कटान सुरु भएको छ, अन्य ठाउँमा पनि जोखिम बढेको छ,’ वडाको जैरे गाउँका पहिरो पीडित रुपलाल रावतले बताए
स्थानीयका अनुसार अहिले पुरै वडा पहिरोको जोखिममा छ ।
“भत्केका घरका अवशेष पहिरोमा पुरिएको देख्न सकिन्छ। पीडितहरू तारपालमुनि वा आफन्तको घरमा बस्न बाध्य छन्। यो वडाले भोगेको सबैभन्दा ठूलो क्षति हो,’ वडाका पूर्वअध्यक्ष गोकुल बुढाले भने ।
प्रहरीले पीडितसम्म पुगेर विवरण सङ्कलन थालेको तर क्षतिको ठोस विवरण आउन बाँकी रहेको स्थानीय सरकारले जानकारी दिएको छ ।
यसैबीच, दिन बिताउन विभिन्न समस्या भोग्नुपरेको पीडितले भने रात बिताउन झनै कष्टकर भएको गुनासो गरेका छन् । खानेकुरा र लत्ताकपडा पाएको जानकारी दिँदै पीडितहरूले बस्नको लागि उपयुक्त ठाउँको आवश्यकता रहेको बताए ।