गलकोट कार्तिक १६ । बागलुङको पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । प्रचार प्रसार र पर्यटन पूर्वाधार निर्माण भएपछि बेलढुंगामा आउने पर्यटकको संख्या बढेको छ ।
बेलढुङ्गा बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिमानामा अवस्थित छ ।
पहिरोले माथिल्लो भाग बगाएपछि दयनीय अवस्थामा रहेको बेलढुंगाको भौतिक पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकार र स्थानीयवासी मिलेर अघि बढेका थिए ।
अब धम्जाको ओखलेमा होमस्टेको व्यवस्था भएपछि बेलढुंगा आउने पर्यटकलाई सहज भएको छ । जैमिनी नगरपालिकाका रमेश केसीले उक्त क्षेत्रमा आउन पाउँदा रमाइलो र हौसला मिलेको बताए ।
“मैले समाचार र सामाजिक सञ्जालबाट यो क्षेत्रको बारेमा थाहा पाएको थिएँ तर सुनेको भन्दा सुन्दर थियो। पदयात्राको व्यवस्था र हिमालयको प्राकृतिक सौन्दर्यले मलाई धेरै आकर्षित गर्यो,” उनले आफ्नो अनुभव सुनाए।
भत्किएपछि नयाँ संरचना निर्माणले आकर्षण बढाएको छ । ढुङ्गाले बनेको र्यालीङ, प्रवेशद्वार, सूचना बोर्ड र बेलढुङ्गाको प्राकृतिक दृश्य टावरसहितको पदयात्रा मार्गले पर्यटकीय स्थललाई थप आकर्षक बनाएको छ ।
पर्यटकले बेलढुंगाबाट हिमालय शृङ्खला र अन्य उच्च पहाडी क्षेत्रको अवलोकन गर्न सक्छन्।
बेलढुंगा अहिले देशैभर पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । बाग्लुङ र म्याग्दीका स्थानीयले उक्त स्थानको संरचना मात्रै परिवर्तन गरेका छैनन्, त्यसलाई क्षेत्रको पहिचान चिन्ह पनि बनाएका छन् । (RSS)