नेपालको प्रमुख निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पिअरआइए)बाट भारतका लागि तीन उडान गर्ने घोषणा गरेको छ ।
कम्पनीले जनवरी २०२३ देखि भारतका तीन शहर वाराणसी (बनारस), नयाँ दिल्ली र देहरादुनमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
“नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यो विमानस्थल जनवरी २०२३ देखि सञ्चालनमा आउने बताएको छ। बुद्ध एयरले पहिलो पटक पोखरा-बनारस-पोखरा उडान यस विमानस्थलबाट सञ्चालन गर्नेछ,” कम्पनीका एक अधिकारीले भने।
पोखरा-बनारस-पोखरा उडान हप्तामा आइतवार, मंगलबार र बिहीबार तीन दिन उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भारत सरकारबाट रुट र स्लट स्वीकृति लिएपछि पोखरा-दिल्ली-पोखरा रुटमा दैनिक दुई वटा नियमित उडान हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले पोखरा-देहरादुन-पोखरा रुटमा सातामा तीन उडान गर्ने निर्णय गरेको छ । अहिले बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं-बनारस उडान गरिरहेको छ । (RSS)