प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले आज प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता गरेका छन् ।
सो अवसरमा सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उनले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिँदै आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भेटमा अमेरिकी राजदूतले भर्खरै सम्पन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको विशेष भूमिकाको प्रशंसा गरेका थिए ।
उनले नेपाल प्रहरीमा सक्षम जनशक्ति उत्पादन गर्ने तालिमको व्यवस्था गर्नका साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण र महिला तथा बालबालिका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल प्रहरीले सार्वजनिक सुरक्षालाई कायम राख्ने नीतिका कारण अमेरिकी नागरिकले आफूलाई नेपालमा सुरक्षित ठान्दै आएको बताउँदै राजदूत थम्पसनले नेपाल प्रहरीलाई धन्यवाद दिए ।
आईजीपी सिंह र अमेरिकी राजदूतबीच द्विपक्षीय हित र नेपाल र अमेरिकाबीचको आपसी सम्बन्धका विषयमा पनि कुराकानी भएको थियो । (RSS)