अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज-नेपालको २६औँ वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले अर्थतन्त्रका परिसूचकहरू सुधारको अवस्थामा रहेकाले अब निर्माणले गति लिने र पुँजी वृद्धि हुने उल्लेख गर्दै वर्तमान अवस्थालाई संकट नभन्न विज्ञ र सरोकारवालालाई आग्रह गरे ।
मन्त्री शर्माले भने, ‘अर्थतन्त्र संकटभन्दा पनि विभिन्न दबाब र चुनौतिको सामना गरिरहेको छ, अब सोचेर छलफल गरौँ, अहिलेको अवस्था के छ भनौँ, झुटो प्रचार नगरौँ ।’
अहिले राजस्व सङ्कलन घटेको र उपभोग पनि घटेको बताउँदै उनले विकासका कामको गति बढेपछि माग बढ्ने बताए ।
देशको अर्थतन्त्र र रोजगारीमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई कम आँकलन गर्न नहुने बताउँदै उहाँले आफ्ना माग र समस्यालाई सरकारले सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
‘देशको अर्थतन्त्र परम्परागत ढंगले अघि बढेको छ,’ शर्माले भने, ‘अब नयाँ आयाम खोजौं, पानी, विद्युत, सूचना प्रविधि जस्ता आर्थिक क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गरौं ।’ सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्र र विकसित अर्थतन्त्र भएका मुलुक अहिले तनावमा रहेको बताए ।
नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दियको समेत बताए।
‘नेपालको अवस्था त्यति नराम्रो छैन,’ उनले भने, ‘दक्षिण एसियाका (भारत बाहेक) अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र केही कठिनाइरहित नभए पनि स्थिर छ ।’