प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलगायत सीमान्तकृत तथा विपन्न नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।
तदनुसार सरकारले उनीहरुको सामाजिक पुनर्स्थापना, सामाजिक न्याय र संरक्षणका लागि विभिन्न पहल गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।
“कोभिड-१९ पछिको समावेशी, पहुँचयोग्य र दिगो विश्वतर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता” यस वर्षको आइ डि पि डि को विषयवस्तु हो।
सन्देशमा प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर जीवनयापन गर्न सरकारले लक्षित रोजगारी र स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको र अपाङ्गताको गम्भीरताका आधारमा राज्यबाट प्रदान गरिने सुविधा क्रमशः बढ्दै गएको उल्लेख गरेका छन् ।
‘सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेका शारीरिक, वृत्तिगत, कानुनी र संरचनागत अवरोधलाई न्यूनीकरण गर्दै राज्य सेवामा सहज र प्रभावकारी पहुँच पु¥याउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिलगायत सबै सीमान्तकृत समुदायका समस्या र आवश्यकतालाई सम्बोधन गर्न सरकारले विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।