खलङ्गा । महाकाली नदीको विवादित क्षेत्रमा बाँध निर्माण रोक्न भारत सहमत भएको छ । सोमबार भएको द्विपक्षीय बैठकमा निर्माण नगर्न भारतीय पक्ष सहमत भएको हो ।
नेपाल र भारतबीच सीमावर्ती क्षेत्रमा तटबन्ध निर्माणलाई लिएर उत्पन्न भएको विवादका विषयमा आइतबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीबीच भेट भएको थियो ।
तटबन्धको विवाद चर्किएपछि आइतबार दुवै देशका स्थानीयवासीबीच झगडा र एकअर्कामाथि ढुंगा हानाहान भएको थियो । घटनामा दुवै देशका आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । भारतले महाकाली नदीको बहावलाई डाइभर्ट गर्न एकतर्फी रुपमा बाँध बनाएको भन्दै नेपालतर्फको खलंगामा आइतबार स्थानीयले कडा विरोध गरेका छन् ।
आक्रोशित स्थानीयवासी तटबन्धका कारण आफ्नो बस्ती जोखिममा पर्न सक्ने डर छ । उनीहरुले निर्माण कार्य तत्काल रोक्न माग गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीर्घराज उपाध्यायका अनुसार दुवै देशका अधिकारीबीच आजको छलफल तटबन्धको विषयमा केन्द्रित भएको छ ।
सिडिओ उपाध्यायले दुवै पक्षलाई नोक्सान नहुने गरी तटबन्ध निर्माण गर्न आग्रह गरे । विवाद भएको ठाउँमा तत्काल तटबन्ध नबनाउने र विवाद नभएको ठाउँमा मात्रै निर्माण गर्ने दुवै पक्ष सहमत भएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए ।