चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा गत साउन ३१ गते सूचना प्रकाशित भएयता चार हजार ३ सय ९४ निवेदन परेका छन् ।
आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन् ।
भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बस्तीमा बसोबास गर्ने सेवाग्राहीले जग्गाको स्वामित्व प्रमाणीकरण, दर्ता प्रमाणपत्र र फिल्ड बुकका लागि निवेदन दिएका थिए ।
थप निवेदनसँगै भूमि आयोगको कार्यालय चितवनमा हालसम्म आठ हजार ५२६ निवेदन परेका छन् ।
आयोगमा सुरुमा जिल्लाका दलित, सुकुम्बासी र अव्यवस्थित बस्तीका बासिन्दाबाट चार हजार १३२ निवेदन प्राप्त भएको गैरराजपत्रित प्रथम श्रेणी अधिकृत कल्पनाकुमारी कुँवरले जानकारी दिनुभयो ।
निवेदकमध्ये १ सय ७९ जनाले हालसम्म जग्गाको स्वामित्व कार्ड प्राप्त गरिसकेका छन् भने अन्य निवेदन प्रक्रियामा रहेको कुँवरले बताए । जिल्लाका विभिन्न स्थानीय तहमा योग्य आवेदकलाई छुट्याउन जग्गा नक्साङ्कनको काम पनि भइरहेको छ ।
भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार पाँच सय २९ दशमलव आठ सय ६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताए । अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ ।