भरतपुर । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ ।
भरतपुर महानगरपालिकाले हल्का तथा ठूला सवारी साधनलाई व्यवस्थित गर्न नयाँ उपाय ल्याएको छ । सहरीकरणको बृद्धिसँगै सवारी साधन व्यवस्थापनमा बढ्दो चुनौतीका कारण महानगरपालिकाले आजदेखि नारायणगढ बसपार्कमा केन्द्रीय बस टर्मिनल र अनिवार्य पार्किङको व्यवस्था गरेको छ ।
एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले आजदेखि सवारी व्यवस्थापनका उपायहरू लागू गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुसार पूर्वबाट काठमाडौं र पोखरा जाने मिनी बस, माइक्रोबसलगायत भाडाका यात्रु बोक्ने बसहरूले केन्द्रीय बसपार्कमा यात्रु ओसारपसार गर्ने व्यवस्था गरिएको छ । पूर्वबाट काठमाडौं र पोखरा जाने बस पनि अन्प्तरी बाइपास रुटबाट निस्कन आवश्यक छ ।
त्यस्तै नयाँ व्यवस्थाअनुसार पूर्वदेखि पश्चिम (बुटवल, धनगढी, महेन्द्रनगर) जाने बसहरू केन्द्रीय बसपार्कमा यात्रु चढ्ने र चौबीसकोठी–लायन्सचोक–पुल्चोक रुट हुँदै जानेछन् ।
त्यसैगरी भरतपुर महानगरपालिकाको चक्रपथमा सञ्चालित सवारीसाधनले नारायणगढ बसपार्कलाई पार्किङका लागि प्रयोग गर्नेछन् । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा र लोथर जाने यात्रुवाहक बसले पार्किङका लागि केन्द्रीय बसपार्क प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
नारायणगढको पुल्चोकदेखि पोखरा बसपार्कसम्म लामो दूरीका ट्रकलगायतका सवारी साधनलाई आवतजावत गर्न निषेध गरिएको छ ।
त्यसैगरी काठमाडौं र पोखराबाट पूर्व वा पश्चिमतर्फका यात्रुबाहक बस, ट्रक, लरी, टिपरलगायतका सवारीसाधनलाई अन्प्तरीबाट नारायणगढ बजार जान निषेध गरिएको छ ।
गोन्द्राङदेखि पुल्चोक–अन्तरीसम्म हर्न निषेध गर्ने निर्णय पनि भएको छ । नारायणगढ र भरतपुरमा पनि राजमार्ग र सडकको बायाँ र दायाँ छेउमा निजी र भाडाका सवारी साधनलाई पार्किङ गर्न निषेध गरिएको छ ।
भरतपुरकी मेयर रेणु दाहालले महानगरपालिकाले आफ्नो भिजनअनुसार सवारी साधन व्यवस्थापन गर्ने उपाय ल्याएको बताए । (RSS)