यस वर्ष किसानले मलको अभाव भोगे पनि मौसम अनुकूल भएकाले धान उत्पादनमा वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार यस वर्ष धान उत्पादन झण्डै सात प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको जनाएको छ, जुन गत वर्षको उत्पादनको तुलनामा ६.९४ प्रतिशतले बढी हो ।
मन्त्रालयले देशका सात वटै प्रदेशले उपलब्ध गराएको धान उत्पादनको अनुमानित तथ्याङ्कका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान रोपिएको छ, जुन गत वर्षको तुलनामा दुई प्रतिशतले कम भए पनि उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेको छ । यस वर्ष उत्पादकत्व पनि बढेर प्रति हेक्टर ३.८ टन पुगेको छ । यसअघि धानको उत्पादकत्व प्रतिहेक्टर ३.५ टन थियो ।
गत वर्ष असोजमा परेको अविरल वर्षाका कारण उत्पादन प्रभावित भएको थियो ।
यस वर्ष मौसम अनुकूल भएकाले कृषकलाई मल उपलब्ध गराउन अलि ढिलो भएको छ भने उन्नत जातका बीउको प्रयोगले पनि उत्पादनमा वृद्धि भएको छ ।
यस वर्ष उत्पादन बढे पनि दुई वर्षअघिको तुलनामा २ लाख मेट्रिक टनले उत्पादन कम हुँदा मुलुकले ५६ लाख २१ हजार टन उत्पादन गरेको थियो जुन विगत सात वर्षको कीर्तिमानी उच्च उत्पादन हो ।
प्रदेशगत हिसाबले हेर्ने हो भने मधेस प्रदेशले यस वर्ष १३ लाख ८८ हजार टन धान उत्पादन गरेको छ, जुन सबैभन्दा धेरै हो। प्रदेश नं १ मा १३ लाख ३६ हजार टन र लुम्बिनी प्रदेशले ११ लाख ५१ हजार टन धान उत्पादन गरेको छ ।