काठमाडौं । नेपाल प्रहरीले प्राविधिक विषयमा खुला प्रतिस्पर्धाबाट भर्ना हुने विभिन्न पदको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार पाठ्यक्रम विकास र परिमार्जनका विषयमा छलफल भएको थियो । जिल्ला र प्राविधिक प्रहरी समुहका विभिन्न पदका लागि पाठ्यक्रम निर्माण र परिमार्जन गर्ने विषयमा छलफल भएको र अहिलेको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ ।
समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले भर्ना समितिको समयअनुसार पाठ्यक्रम परिमार्जन गर्न अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको जानकारी दिए । विज्ञसहितको समितिले अध्ययन गरी प्रतिवेदन तयार गर्न ६ महिनाभन्दा बढी समय लगाएको थियो ।
मुख्यगरी प्राविधिक पदमा सेवा, संविधान र कानुनका पाठ्यक्रम बढी भएकाले प्राविधिक क्षेत्र र विषयका विज्ञको अभाव रहेको अवस्थालाई सम्बोधन गरी प्रतिवेदन तयार पारिएको बताइएको छ ।
त्यसैगरी प्रहरी परीक्षामा अंग्रेजीमा ६० प्रतिशत र नेपालीमा ४० प्रतिशत अङ्क दिने नियम भए पनि अन्य सुरक्षा निकायमा ५०–५० प्रतिशत अंक दिने नियम भएकाले त्यसलाई एकरूपता दिने गरी प्रतिवेदन पेस भएको छ ।
पाठ्यक्रमको अध्ययन गरी संशोधनको लिखित प्रतिवेदनसहित सुझाव दिन लोक सेवा आयोगका विज्ञ डा खगेन्द्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो ।
छलफलमा लोकसेवा आयोगका सदस्य माधव बेलवासे, गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायब महानिरीक्षक लगायतको सहभागिता रहेको थियो ।
बैठकमा प्रहरी नायब महानिरीक्षक थापाले पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जनसम्बन्धी कानुनी प्रावधान, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रमसम्बन्धी सङ्ख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका र परिमार्जन गरिएका व्यवस्थालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
उनले लोकसेवा आयोगको ‘सुरक्षा निकाय, अन्य संघीय सरकार तथा संगठित संस्थाको पदपूर्तिका लागि परीक्षाको मापदण्ड, २०७९’ मा तोकिएबमोजिम सबै पदको पाठ्यक्रम संरचना कायम गरिएको बताए । नेपाल प्रहरीमा अहिले प्राविधिकसहित ८० पदमा नयाँ भर्ना भइरहेको छ ।