काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ सरकार गठन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता तीव्र भएको छ ।
मन्त्रिपरिषद् विस्तार र राज्यसत्ता बाँडफाँडका विषयमा गठबन्धनका सहयात्री दुई नेताबीच दैनिक भेटघाट हुने गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै मन्त्रिमण्डल विस्तार गर्ने एमाले अध्यक्ष ओलीले पछिल्लो समय प्रचण्डलाई एक पल पनि छाड्न चाहेनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि गठबन्धनमा अड्चन आउनेमा ओलीलाई शंका रहेको नेताहरूले बताएका छन् ।
ओलीले बुधबार प्रचण्डलाई उनको निवास बालकोटमा भेटेका थिए र भेटका लागि बिहीबार बालुवाटार पुगेका थिए । भेटमा दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
एमालेका एक नेताले आगामी माघ ५ गते सभामुखको निर्वाचन हुने भएकाले माओवादी र कांग्रेसको पुरानो गठबन्धनलाई पुनर्जीवित गर्ने सम्भावनाप्रति एमाले गम्भीर रहेको बताए । उनले भने– ‘राजनीतिमा जे पनि हुन थालेको छ । हामी सबै मामिलामा सावधानीपूर्वक अगाडि बढ्नुपर्छ। कांग्रेसले विश्वासको मत दिने पछाडि केही न केही हुनसक्छ भनेर एमाले अगाडि बढेको छ ।’