काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाको बनेपा नगरपालिका वडा नं ४ स्थित नालामा नवनिर्मित दश अवतारसहितको ब्रह्मा मूर्तिको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार ब्रह्माको मूर्तिको उद्घाटन गरेकी हुन् ।
ब्रम्हा प्रतिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटकीय क्षेत्रका रूपमा चिनिने काभ्रेमा नवनिर्मित ब्रह्म मूर्तिले पर्यटन विकासमा टेवा पुग्ने बताइन् । उनले जिल्लामा निर्माण भएको नेपालको पहिलो ब्रह्मा मूर्तिले यस जिल्ला र क्षेत्रलाई नयाँ पहिचान दिएको बताए ।
आफ्नो गौरवशाली सभ्यतालाई भावी पुस्तामा हस्तान्तरण गर्न आफ्नो परम्पराको जीवन्त पक्षलाई जोगाउन आवश्यक रहेको बताइन् । उनका अनुसार नेपालको पर्यटन विकासका लागि काभ्रे जिल्लाको आफ्नै महत्व रहेको भन्दै राष्ट्रपति भण्डारीले नेपाल आउने पर्यटकको बसाइ विस्तार गर्न नयाँ क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको बताइन् ।
९१ रोपनी सार्वजनिक जग्गामा संरचना तयार भएको विश्वको तेश्रो, नेपालको पहिलो दश अवतार सहितको ३० फिट अग्लो ब्रम्हा मन्दिर निर्माण सम्पन्न भएसँगै राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
धार्मिक क्षेत्रबाट नेपालका विभिन्न क्षेत्रहरू पहिचान भएको सन्दर्भमा यो क्षेत्रलाई पनि थप धार्मिक पर्यटकीय क्षेत्र बनाउन सहज हुने राष्ट्रपति भण्डारीले बताउनु भयो । ‘ब्रह्माजीको प्रतिमा विरलै छन्, प्रतिमा सहितको पार्क निर्माण कार्यले धार्मिक र पर्यटकीय स्थलका रुपमा रहने विश्वास छ’–राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो–‘समृद्ध नेपाल र सुखी नेपालीका लागि पर्यटन प्रमुख आधार बन्न सक्छन ।’
राष्ट्रपति भण्डारीले प्रकृतिको सौन्दर्य बनाएर विकासका गतिविधि अगाडि बढाउनुपर्ने, प्रकृति र मानवबीच सन्तुलन कायम गर्न वातावरणमैत्री विकास गर्नुपर्ने बताइन् । उनले नाला क्षेत्रमा ब्रह्माको मुर्ति निर्माण गर्दा सामुदायिक भावनाको विकास भएको उहाँले बताउनु भयो। राष्ट्रपति भण्डारीले पर्यटन क्षेत्रको विकासबाट मुलुकको आर्थिक समृद्धि हुने बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद एवं पूर्व मन्त्री गोकुल बास्कोटाले जनस्तरबाट निर्माण गरिएको उक्त क्षेत्रको संरक्षण र थप विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो । जिल्लाको द्रुततर विकासका लागि विभिन्न परियोजना सञ्चालन भइरहेको बताउँदै बास्कोटाले जिल्लाको गौरवको नमुना क्षेत्र निर्माण भएकोमा स्थानीयहरुलाई धन्यवाद दिनु भयो ।
‘नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गरिएको छ, विधिवत रुपमा यसको प्राण प्रतिष्ठाको तयारी गरिएको छ’ समाजका सचिव श्याम सापकोटाले भन्नुभयो, ‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको थियो ।’
२०७९ पौष २२ र २३ गते स्वस्थानी पूर्णिमाका दिन ब्रम्हायणी मन्दिर परिसरमा चर्तुरानन ब्रह्माजीको प्रतिमाको प्राण प्रतिष्ठा एवं यज्ञ अनुष्ठान समापन भएको अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।