काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारसँग महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएर भेट गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले शवको पहिचानबारे जानकारी लिए र पोस्टमार्टमलाई तीव्रता दिन, वैज्ञानिक बनाउन र शव परिवारलाई छिटो बुझाउन निर्देशन दिए ।
प्रधानमन्त्रीले शव पहिचानको काम तत्काल पूरा गर्न सरकारसँग आवश्यक सहयोग गर्न अस्पतालका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यकारी प्रमुखले सनाखतका लागि राखिएको शवको अवलोकन गर्नुका साथै मृतकका आफन्तसँग भेटघाटसमेत गरेका थिए ।
दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै उनले शव हस्तान्तरण प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान अवतरणअघि पोखरामा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो ।
सरकारले विमान दुर्घटनाको कारणबारे छानबिन गरी प्रतिवेदन बुझाउन उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।