बाग्लुङ। मौरीपालन व्यवसायका लागि उपयुक्त पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गएको छ ।
पहाडी क्षेत्रमा चर्ने मौरीको मह अर्गानिक र स्वस्थकर मानिने भएपछि जिल्लामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाएको छ ।
यहाँका धेरै ठाउँमा मौरीपालन व्यवसाय फस्टाएको सन्दर्भमा बाहिरका जिल्लाबाट समेत यसलाई मौरी चर्ने क्षेत्रका रुपमा लिन थालेको छ । २०७२ देखि मौरीपालन थालेका म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलाका दिलबहादुर खत्रीले बाग्लुङ–४ रामेटारलाई मौरी चराउने क्षेत्र रोजेका छन् ।
बाग्लुङ–४ उपल्लाचौर, कुदुन्ले र रामेतारलाई मौरी चराउने क्षेत्रका रुपमा लिइएकोमा यसपटक ललितपुरबाट बाग्लुङमा मौरी चराउन ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ ।
सन् २०५१ देखि मौरीपालन व्यवसायमा लागेका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वर्षेनी एक हजारभन्दा बढी मौरी बिक्री गर्ने गरेको बताए । सामाजिक सञ्जालमा कुडुँले तोरी खेतको चर्चा देखेपछि कन्सनले व्यवसायिक प्रायोजनका लागि ७० वटा मौरी लिएर कुडुँले तोरी खेतमा राखेको बताए । करिब १२ सय मौरी रहेको कन्सनले यस मौसममा मौरी चराउन पहाडी जिल्लामा पठाउने गरेको छ । पहाडी जिल्ला मौरी चरनका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन रहेको भन्दै पहाडी जिल्लामा पहिलोपटक बाग्लुङमा मौरी चराउने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।