चितवन । चितवनको सौराहामा नमूना पर्यटकीयमार्ग निर्माण हुने भएको छ ।
सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरिएको हो ।
तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको उनले बताए ।
सौराहाको सौन्दर्य अभिवृद्धि र समुदायको दिर्घकालिन हितका लागि यो आयोजना निर्माण हुन लागेकोले निर्माणको क्रममा भत्काउनु पर्ने स्थायी तथा अस्थायी संरचनालाई लिएर कसैले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि पार्कसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरबारविहीन भएकालाई आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कुल १४ करोड २४ लाखको लागतमा फुटपाथ निर्माणको ठेक्का सम्झौता भएको छ ।
सौराहाको पर्यटनलाई रत्ननगर नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । दोस्रो पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नुपर्ने उनले बताए ।
रत्ननगर-६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताए ।
सौराहा क्षेत्रमा सबैभन्दा धेरै बजेट लगाएकाले सौराहालाई नमूना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे ।