जुम्ला । नेपाल वायुसेवा निगमले नेपालगन्जबाट जुम्लालगायत दुर्गम गन्तव्यमा उडानका लागि अनलाइन टिकट प्रणाली सेवा सुरु गरेको छ ।
निगमले बिहीबारदेखि अनलाइन इ–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट उडान हुने जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरा जिल्लामा अनलाइन टिकटिङ सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।
बिहीबारबाट पहिलो पटक सेवा सुरु गरिएको उनले बताए । उनले दुर्गम क्षेत्रमा ई–टिकट सञ्चालन गर्ने उद्देश्य रहेको बताए ।
उच्च्स्थरिय पहुँच भएकाले मात्रै ग्रामीण तथा दुर्गम क्षेत्रमा उडानको टिकट पाउने र सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने भएकाले इ–टिकटिङ प्रणाली सुरु गरिएको हो ।
माघ १९ गतेदेखि कर्णालीका सबै जिल्लामा निगमको इ–टिकटिङ प्रणाली सुरु भएको छ । जुम्लाका सांसद छिरिङल्हामु लामा तामाङ सांसद भएदेखि नै हवाई तथा यातायातको समस्या समाधानका लागि पहल गरिरहेकी छन् ।
कर्णाली र जुम्लामा हवाई उडानको समस्या समाधान गर्न उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई निवेदन दिएकी छन् । लामाको निरन्तर पहलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा इ–टिकट प्रणाली सुरु गरेको छ ।
‘जुम्लालगायत कर्णालीका जनताले भोग्नुपरेको सबैभन्दा कठिन समस्या भनेको उडान र यातायातको समस्या हो । उडान नियमित नहुँदा हवाईजहाजको टिकट वितरणमा समस्या छ भने नागरिकले वर्षौदेखि सास्ती भोग्दै आएका छन्। सांसद बनेको पहिलो दिनदेखि नै यो समस्या समाधानका लागि निरन्तर लागिरहेको छु,’ छिरिङल्हामुले भने।
सुदन किरातीले हवाई टिकट पाउन नागरिकले समस्या भोग्नुपरेकोले तत्कालै इ–टिकटिङ प्रणाली लागू गरिएको बताउनुभयो ।
इ–टिकट प्रणाली लागु भएपछि आफुलाई सहज हुने स्थानीयवासी खुसी भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर कुँवरले यो प्रणालीले स्थानीयलाई हवाई टिकट पाउन सहज हुने बताए ।
छिरिङले अन्य निजी विमानमा पनि अनलाइन टिकट लागू गर्ने र विमानस्थलको स्तरोन्नति गर्ने प्रयास भइरहेको बताए ।