काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी बोकेको आरोपमा परेको उजुरीमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले महत्वपूर्ण कागजात संकलन गर्न थालेको छ ।
मंगलबार परेको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको नागरिकता र राहदानीसम्बन्धी तीनवटा सरकारी निकायसँग कागजात मागेको छ ।
प्रमुख सहायक न्यायधिवक्ता अच्युतामणि न्यौपानेका अनुसार सरकारी वकिलको कार्यालयले बुधबार अध्यागमन विभाग, काठमाडौं जिल्ला प्रशासन कार्यालय र राहदानी विभागलाई आवश्यक कागजात मागेको थियो ।
लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको थियो । लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गरेका हुन् ।
लामिछानेले अमेरिकी नागरिक बनेपछि कायम नरहेको २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी नागरिकता प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । लामिछाने चितवन २ बाट सांसद निर्वाचित भएपछि राहदानीको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।
राहदानी ऐनको दफा २१ बमोजिम झुटो विवरण पेश गरी राहदानी वा यात्रा कागजात लिने वा लिने प्रयास गर्नेलाई रु दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
लामिछाने दोषी ठहर भएमा उनलाई आजीवन चुनावी राजनीतिबाट वञ्चित हुन सक्नेछ ।
प्रतिनिधिसभा गठनसम्बन्धी ऐनको दफा १३ ले राहदानी दुरुपयोग गर्ने व्यक्तिलाई चुनाव लड्न अयोग्य ठहराएको छ । राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनमा पनि यस्तै व्यवस्था छ ।