डोटी । डोटीमा असिनापानीले हिउँदे बालीमा ठूलो क्षति पुगेको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा परेको असिनापानीले कृषक आफ्नो बालीनालीमा चिन्तित बनेका छन् ।
यस क्षेत्रका कृषकहरू भोकमरीको जोखिममा पर्ने चिन्ता एक स्थानीयवासीले व्यक्त गरेका छन् । हिउँदमा पानी नपरेका कारणले हुर्कन नपाएको बालीनाली असिनाले नष्ट पारेका छन्। कात्तिक २२ को भूकम्प र त्यसपछिको खडेरीबाट पनि प्रभावित यस क्षेत्रका समुदायले अहिले खाद्यान्न अभावको चपेटामा पर्न सक्नेछन् ।
लामो समयदेखि खडेरी परेको भन्दै स्थानीयवासी वीरेन्द्र उपाध्यायका अनुसार एक्कासी असिनापानीले गहुँ, तरकारी र फलफूल बालीमा थप क्षति पुर्याएकाले भन्दै किसान चिन्तित भएका छन् ।
स्थानीय समुदायले समयमै पानी नपर्दा खाद्यान्नको मूल्यमा तीव्र बृद्धि भएको र गरिब परिवारहरूलाई भोकबाट बच्न अझ चुनौतीपूर्ण बनाएको रिपोर्ट गरेको छ।
सिलगढी जिल्ला कृषि ज्ञान केन्द्रले पनि यस वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा ठूलो असर परेको बताएको छ।