काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका र हाल राजधानीमा बसोबास गरिरहेका नागरिकका लागि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने ठाउँ तोकेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार सूचना जारी गर्दै काठमाडौं र ललितपुरका पाँच स्थानमा दर्ता केन्द्र सञ्चालनमा रहेको जानकारी दिएको हो ।
विभागले हाल राजधानीबाहिर रहेका नागरिकलाई ७७ जिल्ला प्रशासन कार्यालय, ४२ स्थानीय प्रशासन कार्यालय, नारायणहिटी दरबारलगायत देशैभर सञ्चालन भइरहेका दर्ता अभियानबाट राष्ट्रिय परिचयपत्र सेवा लिन सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।
यो सेवा वाग्मती प्रदेशको ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाका साथै मधेस प्रदेशका पर्सा र धनुषा जिल्लाका बासिन्दाले आ-आफ्नो जिल्ला प्रशासन कार्यालयमा आफ्नो व्यक्तिगत जानकारी दर्ता गर्न सक्नेछन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन् ।
त्यस्तै नारायणहिटी दरबार परिसरमा रहेको विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश नं. २ का सिरहा, महोत्तरी बारा र रौतहट जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता स्टेसन भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीका लागि छुट्याइएको छ । यस्तै राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा रहेको विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका व्यक्तिले सेवा लिन सक्नेछन् ।
विभागले व्यक्तिहरूलाई अत्यावश्यक अवस्थामा बाहेक आफू रहेको क्षेत्रमा रहेको जिल्ला वा स्थानीय प्रशासन कार्यालयमा आफ्नो विवरण दर्ता गर्न प्रोत्साहित गरेको छ। यसले निकट भविष्यमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनेछ।