काठमाडौँ । नेकपा एमालेले रासायनिक मलमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।
एमालेको कृषि तथा पशुपन्छी विकास विभागले एक विज्ञप्ति जारी गर्दै मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो ।
एमालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ मूल्य वृद्धि भएको छ । यसको मार नेपाली किसानमा परेको छ ।’
यसअघि सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसले गर्दा किसानहरुले रासायनिक मल महङ्गोमा खरिद गर्नुपरेको छ । यसले कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको भन्दै एमालेले तत्काल पुरानै मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घट्दै गएको जनाउँदै एमालेले मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा नपार्न सरकारसँग माग गरेको छ ।