पोखरा । आतिथ्य क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
यसअघि होटल पौवाले बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत स्थानबाट सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको जनाएको छ ।
आतिथ्य सेवामा प्रालिले हालसम्म लगभग ६० करोड लगानी गरिसकेको बताए । होटलका देशभरका सबै शाखामा तीन सय बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे । ‘काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ’, उनले भने । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
आउँदो दशकभित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् । ‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ’, प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।
होटल पौवाको ११औँ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार औपचारिक शुभारम्भ गर्ने बताइएको छ । यस अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्टलगायतका कार्यक्रमहरु आयोजना गरिने भएको छ ।