काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।
शनिबार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।
पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुनः सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन् ।
मंसिर ४ को आमनिर्वाचनपछि सभापति लामिछाने संसदीय दल नेता चुनिएका थिए । तर, सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको सांसद पद गुमेपछि रास्वपाले अर्याललाई संसदीय दलको नयाँ नेता चयन गरेको थियो ।
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।
अहिले भने उपनेता श्रेष्ठले नै उक्त जिम्मेवारी सम्हालेका छन् ।