काठमाडौं । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।
नेपालले श्रृंखला ३–२ ले जितेको हो । यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्न नेपाल र मलेसिया दुबैलाई उत्तिक्कै महत्वपूर्ण थियो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो । आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।
मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।