काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को नयाँ शृङ्खलामा सुखद सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा घरेलु टोली युएईलाई ३७ रनले स्तब्ध पार्दै नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको हो । नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ४८.२ ओभरमा सबै विकेट गुमाएर १६३ रन मात्र जोड्न सक्यो ।
युएईको पारीलाई सस्तैमा समेट्न नेपालका बलर करण केसीले घातक बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट बाँडे भने दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा १-१ विकेट रह्यो । युएईका लागि हर्प्रित सिंहले सर्वाधिक ३९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान मोहम्मद वासीमले ३४ र आकाशदीप नाथले ३० रनको योगदान दिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेट गुमाएर २०० रन तयार पारेको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । अन्य ब्याटरहरूमा कुशल भुर्तेलले २४, करण केसीले २२ र बसिर अहमदले २० रन बनाए । आरिफ शेख र सोमपाल कामीले समान १५-१५ रन जोडेका थिए । युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले समान ३-३ विकेट लिए ।
यो जितसँगै नेपालले २१ खेलबाट १४ अङ्क जोडेको छ र तालिकाको सातौँ स्थानमा कायमै छ । युएईको भने २१ खेलमा १० अङ्क रहेको छ । अब सिरिजको अर्को खेलमा सोमबार युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।



