काठमाडौँ । आइतबार बिहान शक्तिशाली भूकम्प गएयता ४ म्याग्निच्युड भन्दा माथिका ६ वटा परकम्पहरू गइरहेका छन् । आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका ५ कुमालटारीमा ६ वटा घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो । भूकम्पका कारण मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।