काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने शितलहर सहितको हुस्सु लागेको अवस्था छ।
महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु/ कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ । महाशाखाले शनिबार पनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।
भोलि (शुक्रबार) पनि धेरै जसो स्थानको मौसम सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ ।