काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् ।
उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् । उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।
विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् । उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।