ललितपुर । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर-घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।
आज (बिहीवार )ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख चिरीबाबु महर्जनले घर-घरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताउनु भयो ।
यस अभियानले जनप्रतिनिधिहरू चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने उनले जानकारी दिए ।
उनले नागरिकहरूले दुःखका कुराहरू नगरप्रहरीमार्फत जनप्रतिनिधिहरूलाई सुनाउन सक्ने उल्लेख गरे । नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ। यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।
उनले भने, ‘घरघरमा नगरप्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन् । धेरै आयामहरू छन् । अब हामी जनप्रतिनिधिहरू चुनावको निमित्त घरमाभोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुखदुःखका कुराहरू भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ती कुराहरू उहाँहरूले व्यक्त गर्न सक्नुहुनेछ। यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु । ’
प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरूको गुनासा र सुझावहरूबारेमा बिफ्रिङ लिने बताए ।