जुम्ला । जुम्लाको तिला गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको दाबी गरेको छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ वटा योजना निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरूको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उहाँले बताउनुभयो ।
पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौ वटा वडा र पालिकास्तरमा गरी कुल एक सय ६५ योजना सम्पन्न भएका हुन् । तीमध्ये ५० लाख रुपैयाँमाथिका १५ वटा, पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए । रासस