सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ ।
आज (सोमबार) दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका २३ सांसदले विश्वासको मत दिएसँगै उहाँले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा २३ जनाले मतदान गरेका छन् भन विपक्षमा १४ जनाले मतदान गरेका छन् ।
कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए ।
मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।
गत साउन ७ गते नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाएका थिए ।