काठमाडौँ । राष्ट्रिय परिचयपत्रमार्फत पनि मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था लागू भएलगत्तै नयाँ मतदाता थपिने दर उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
निर्वाचन कार्यालयहरूमा बढ्दो चाप व्यवस्थापन गर्न आयोगले कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र लिएर नै जैविक विवरण-फोटो र औँठाछाप-दिइराखेर नामावली दर्ता गर्न सकिने प्रणाली सुरू गरेको थियो ।
यसपछि परिचयपत्र बनाउने र मतदाता दर्ता गर्ने नागरिकको संख्या तीव्र रूपमा बढेको हो ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कात्तिक २९ गते राति ९ बजे सम्म राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मात्र ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र चार अन्य गरी कुल ८० हजार ४५६ नयाँ मतदाता दर्ता भएका छन् ।
यही प्रक्रियासँगै निर्वाचन घोषणा भएपछि हालसम्म दर्ता भएका कुल नयाँ मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको आयोगले जनाएको छ। आयोगले आज पनि मतदाता नामावली दर्ता निरन्तर जारी राखेको छ ।



